काठमाडौँ,३ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। यो विस्तारसँगै मन्त्रिपरिषद २३ सदस्यीय पुगेको छ । दुईवटा मन्त्रालय भने प्रधानमन्त्रीले आफुसँग राखेका छन् ।
नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री एवं ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन्। माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन्।
यस्तै, सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन्।
माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन्।
नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन्। पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्रीमा नियुक्त भएका हुन्।
राप्रपाबाट सहरी विकासमन्त्रीमा पार्टी उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन्। राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल श्रम र शिशिर खनाल शिक्षा मन्त्री नियुक्त भएका छन्।
यस्तै, तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी छिन्। रास्वपा सभापति रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend