ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ ।
पुष १८ गते सोमबार १९औं वार्षिक साधारणसभा सकिएकै दिन बैंकले गत आर्थिक वर्षको लाभांश १५,४७४ सदस्य सहकारी संघ–संस्थाको खातामा लाभांश रकम पठाएको हो ।
साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको लगत्तै बैंकले खातामा रकम पठाएका छौं, बैंकका अध्यक्ष केबी उप्रेतीले भने, ‘साधारणसभा सकिए लगत्तै आजै सहकारीहरुको खातामा लाभांश पठाईएको छ ।’ एकाइ प्रतिनिधिहरुको साधारणसभा सोमबार सम्पन्न भएसँगै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको हो ।
बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा रु ४३ करोड ४५ लाख ५७ हजार ७४८ रुपैया लाभांश वितरण गरेको छ । बैंकले विगत ५ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूंजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश गरिएको छैन ।
बैंकले छिट्टै संरक्षित पूंजीफिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ । लाभांशबाहेक कारोबारका आधारमा संरक्षित पूंजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउँदै आएको छ । संरक्षित पूंजीफिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend