काठमाडौँ ५ माघ । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले चुनावी खर्चमा सरकारले नियन्त्रण गर्नुपर्ने बताएका छन । उनले चुनावमा हुने जथाभावी तथा अनियमित एवं अनियन्त्रित खर्चले कम आयस्रोत भएका व्यक्ति चुनाव लड्न नसक्ने बताए । उनलाई चुनावी खर्चको चिन्ता लागेको छ । सरकारले चुनावी खर्चलाई नियन्त्रण गर्न कुनै न कुनै उपाय लगाउनुपर्ने उनको भनाई छ ।
उनले भने, ”चुनावमा हुने खर्चलाई नियन्त्रण गर्न सकेन भने हेर्दैजानु होला कुनै समय राजनीतिमा व्यापारी र पैसावालाको बोलवाला हुन्छ र जो निम्न तथा मध्यवर्गका हुन्छन् उसले राजनीतिबाट सन्यास लिनुपर्ने हुन्छ । चुनाव आउन लागेको छ, त्यसमा उम्मेदवार कसरी उठाउने भनि चिन्ता अहिलेदेखि सुरु भएको छ, पार्टीबाट उम्मेदवार उठाएपछि उसलाई खर्च पनि दिनुपर्छ १०–२० हजारले पुग्दैन । अहिले चुनाव जित्नका लागि कम्तीमा चार पाँच करोड रुपियाँ चाहिन्छ, सर्वहारा वर्गले त्यसको बारेमा कल्पना समेत गर्न सकिदैन ।’’
उनले संगठनले मात्र चुनाव जित्न नसकिने बताए । उनले भने, ”चुनाव संगठनले मात्र जित्न सकिदैन, संगठनका साथसाथै पैसा पनि चाहिन्छ, र अहिले काँग्रेस, माओवादी केन्द्र, एमाले, जसपा, लोसपा सबै पैसाका लागि राजनीति गरेका छन्, ती पार्टीका नेताहरु राजनीतिको आडमा करौडोको चलखेल गर्नुहुन्छ, चुनावका लागि भएपनि सत्तामा पुगेपछि भ्रष्टाचार गर्नुहुन्छ, हामी जस्ता पार्टी जसको संगठन पनि छ, सिद्धान्तका आधारमा राजनीति गरिरहेको छ तर चुनावमा उम्मेदवार खाडा गर्न हिम्मत गर्दैन ।’’
नेपाली जनता दलको अगुवाईमा साना साना दलहरु एकीकृत भइरहेको बताउँदै अध्यक्ष साहले चुनाव आउनेबेलासम्म नेपाली जनता दल अझ बलियो भएर आउनेमा आफू विश्वस्त रहेको दावी गरे । उनले आगामी चुनावमा पार्टीलाई गतिशिल बनाउने र आफ्ना दलबाट उम्मेदारी दिएकालाई जिताउन रणनीतिहरु बनाउने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend